advertGIF1

देशकै पहिलो महिला प्रधानन्यायाधीश अब प्रधानमन्त्री, आजै सपथ ग्रहण

काठमाडौं — देशकै पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इतिहास रचिसकेकी सुशीला कार्की अब कार्यकारी नेतृत्वको भूमिकामा उभिन लागेकी छन्। कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ र उनी आज बेलुकी ९ बजे प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, प्रधानमन्त्री नियुक्तिसम्बन्धी निर्णय आज दिउँसो राष्ट्रपति कार्यालयमा भएको हो। “सपथग्रहण कार्यक्रम आज बेलुकी ९ बजेका लागि तय भएको छ,” पोखरेलले जानकारी दिए।

पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा आफ्नो कडा र निडर छविको कारण देशव्यापी चर्चा बटुलेकी थिइन्। अब कार्यपालिका नेतृत्व सम्हाल्ने उनको यो कदम देशको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याउने विश्वास गरिएको छ।

सरकार गठनको पछिल्लो समिकरण, दलहरूबीचको सहमति र कार्कीको नेतृत्वमा बन्ने मन्त्रीपरिषद्‌को प्रारूपबारे थप विवरण आउन बाँकी छ। तर, देशको इतिहासमा पहिलोपटक न्यायपालिका नेतृत्व गरेका व्यक्तिले कार्यपालिका नेतृत्व गर्न लाग्नु विशेष महत्वको विषय बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *