advertGIF1

एयर इन्डियाको विमान दुर्घटनामा परेकी नेपाली मूलकी एयर होस्टेस मनिषा थापाको निधन, परिवार शोकमा

काठमाडौं – पटनामा स्थायी बसोबास गर्दै आएकी मनिषा थापा, जो मूलतः नेपालको विराटनगरकी हुन्, एयर इन्डिया फ्लाइट AI-171 मा क्रू सदस्यको रूपमा कार्यरत थिइन्। बिहीबार अहमदाबादमा उक्त विमान दुर्घटनामा परेको समाचार आएपछि सम्पूर्ण परिवार स्तब्ध भएको छ।

उनका दुई काका – गुद्दु बहादुर थापा र बब्लु थापा, दुवै बीएसएपी (BSAP) मा हवल्दार पदमा कार्यरत छन्। मनिषा थापाका साथीमार्फत दिउँसो २ बजे दुर्घटनाको जानकारी प्राप्त भएपछि परिवारका सदस्यहरू तुरुन्तै अहमदाबादतर्फ प्रस्थान गरेका थिए।

उनका पिता राजु थापा बिहारको बेगुसराईमा कार्यरत छन् भने आमा लक्ष्मी थापा गृहिणी हुन्। मनिषाका भाइ अमित थापा पटना स्थित कलेजमा स्नातक अध्ययनरत छन्। दुर्घटनाको खबर सुनेपछि आमाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ र उनी हाल चिकित्सकको निगरानीमा रहेकी छिन्।

मनिषाका काका गुद्दु थापाका अनुसार, मनिषा सानैदेखि पढाइमा अब्बल थिइन्। सेन्ट जेभियर्स कलेज, पटनाबाट स्नातक गरेपछि उनले इन्डिगो एयरलाइन्समा एयर होस्टेसको रूपमा काम थालिन। पछि राम्रो अवसरको खोजीमा उनले एयर इन्डिया ज्वाइन गरेकी थिइन्। “उहाँ अब हामीसँग हुनुहुन्न भन्ने यथार्थ स्वीकार्न हामीलाई धेरै गाह्रो भइरहेको छ,” गुद्दु थापाले आँशु झार्दै भने।

छिमेकीहरूले पनि मनिषालाई सम्झँदै भने, “उनी अत्यन्त नम्र स्वभावकी थिइन्। सधैँ मुस्कानका साथ भेट्ने बानीले उनी अरुभन्दा फरक देखिन्थिन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *