फ्लोरिडा – फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्समा आइतवार भएको घटनामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक हत्या प्रयास भएको पुष्टि गरिएको छ। एक व्यक्तिले AK-47 स्टाइलको अर्ध स्वचालित राइफलसहित ट्रम्पलाई नजिकैबाट निशाना बनाउन खोजेको थियो। तर, सुरक्षा एजेन्टको तत्काल प्रतिक्रिया र साहसिक कारबाहीले उक्त प्रयास असफल भएको छ।
घटनाको समय ट्रम्प आफ्नो साथी र रिपब्लिकन डोनर स्टिभ विटकफसँग गल्फ खेलिरहेका थिए। अमेरिकी गुप्तचर सेवाका एक एजेन्टले संदिग्धलाई देखेर गोली चलाएपछि, अपराधीले आफ्नो राइफल छोडेर भाग्न खोजेका थिए। उनको भाग्ने कोसिसलाई पनि प्रत्यक्षदर्शीले देखेका थिए र उनी चढेको गाडीको नम्बर प्लेट समेत टिपेका थिए।
यो घटना ट्रम्पमाथि पछिल्लो दुई महिनामा भएको दोस्रो हत्या प्रयास हो। गत जुलाईमा पनि पेन्सिलभानियामा एक र्यालीमा ट्रम्पलाई गोली लागेर कानको नजिकै गम्भीर चोट पुगेको थियो। यस पटक, गुप्तचर सेवाको सतर्कताले ठूलो दुर्घटना टरेको छ।