नेपालले भारतको आपूर्ति श्रृंखलामा स्थान खोज्नुपर्छ: डब्ल्यूटीओ महानिर्देशक ओकोंजो-इवेला

काठमाडौँ – विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का महानिर्देशक न्गोजी ओकोंजो-इवेलाले नेपालले भारतको आपूर्ति श्रृंखलामा समाहित हुने प्रयास गर्नुपर्ने बताएकी छिन्। जेनेभामा आयोजित डब्ल्यूटीओको सार्वजनिक फोरममा अन्तर्राष्ट्रिय पत्रकारहरूसँगको अन्तरक्रियामा उनले नेपालको बढ्दो व्यापार घाटा डब्ल्यूटीओ सदस्यतासँग प्रत्यक्ष सम्बन्धित नभई नेपालले भारतबाट धेरै आयात गर्नुको कारण रहेको बताइन्।

उनले भनिन्, “तपाईंहरूलाई छिमेकमा एक विशाल देश छ, जसले धेरै वस्तु उत्पादन गर्छ। तपाई डब्ल्यूटीओको सदस्यता कारण आयात बढ्यो भन्नु उचित होइन। तपाई भारतजस्तो १.४ अर्ब जनसंख्या भएको देशसँग खुला व्यापार सम्झौता र सिमाना छ भने यो स्वाभाविक हो।”

नेपालले आयात-निर्यात अनुपातको मात्र चिन्ता गर्नेभन्दा पनि आफ्नो तुलनात्मक लाभको क्षेत्रमा ध्यान दिनुपर्ने र भारतको आपूर्ति श्रृंखलामा स्थान बनाउनुपर्ने उनले सुझाव दिइन्। “किन भारतले केही उद्योगहरूको आपूर्ति श्रृंखलाका अंशहरू नेपालमा स्थानान्तरण नगर्ने? दुबै देशसँग मिल्दोजुल्दो संस्कृति र परम्पराहरू छन्, त्यसैले यो सम्भव छ,” ओकोंजो-इवेलाले भनिन्।

नेपालले कतिपय आयातले आफ्नो जनतालाई सस्तो मूल्यमा फाइदा पुर्याउने तर्फ पनि ध्यान दिनुपर्ने उनले बताइन्। उनले भने, “कतिपय उत्पादनमा नेपालले तुलनात्मक लाभ नभएपछि, आफैँ उत्पादन गर्नुभन्दा आयात गर्नु राम्रो हुन्छ। यसले जनतालाई सस्तोमा वस्तु उपलब्ध गराउँछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *