पेरिस- ३० अगस्ट शुक्रबारका दिन, नेपालकी पलेशा गोवर्धनले पेरिस २०२४ पैरालिम्पिक्समा ऐतिहासिक विजय हासिल गर्दै, पर्वतीय राष्ट्र नेपालको लागि पहिलो पटक पैरालिम्पिक खेलकुदमा पदक जित्ने कीर्तिमान कायम गरिन्।
महिलाको के४४ -५७ केजी तौल समूहको तेक्वान्दो प्रतियोगितामा, उनले सर्बियाकी मारिजा मिचेवविरुद्धको कांस्य पदकका लागि भएको खेलमा शानदार प्रदर्शन गर्दै इतिहास रचिन्। खेलको सुरुवातमा केही समय आफ्नो लयमा आउन नसकेकी पलेशाले अन्तिम मिनेटमा एकपछि अर्को किक प्रहार गर्दै निर्णायक विजय हात पारिन्।
खेलको अन्त्यमा जब जजले खेल समाप्तिको घोषणा गरे, त्यो क्षण खुसीको सागर बन्यो। पलेशा र नेपालका लागि यो ऐतिहासिक क्षण थियो। उनको प्रशिक्षकहरूले उनलाई अंगालो हाल्दै नेपालको झण्डा ओढाएर सम्मान गरे।
“यो सपनाजस्तो लागिरहेको छ,” पलेशाले आफ्नो अविस्मरणीय विजयपछि भनिन्। उनले थपिन्, “धेरै मानिसले सपना देख्छन्, तर त्यो सपना साकार पार्न परिश्रम गर्दैनन्। तर मैले गरेँ। मैले आफ्नो सबै शक्ति लगाएँ, निरन्तर काम गरेँ।”
टोकियो २०२० पैरालिम्पिक्समा कांस्य पदक हात पार्न नसकेपछि निराश भएकी पलेशाले यो पेरिस २०२४ मा आफूले पुनःरावृत्ति हुन नदिने दृढ संकल्प गरेको बताइन्। अन्ततः, उनले पेरिसमा हजारौं दर्शकको अगाडि मीठो बदला लिँदै नेपालको लागि पहिलो पटक पैरालिम्पिक पदक जितिन्।