advertGIF1

advertGIF1

धरण समाज यूकेको वार्षिक साधारण सभा सम्पन्न

स्विन्डन — Dharan Samaj UK ले आफ्नो पहिलो वार्षिक साधारण सभा (AGM) तथा आठौँ कार्यसमिति बैठक १४ मार्च २०२६ मा Ellendune Community Centre मा सम्पन्न गरेको छ। बारेट वे, स्विन्डनस्थित सामुदायिक केन्द्रमा आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष निकेश लिम्बुले मार्च २०२५ देखि मार्च २०२६ सम्म समाजले सञ्चालन गरेका विभिन्न गतिविधिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार समाजले गत वर्ष सामाजिक, सांस्कृतिक तथा खेलकुदसम्बन्धी विविध कार्यक्रमहरू सफलतापूर्वक आयोजना गरेको थियो।

उक्त अवधिमा २१ जुन २०२५ मा १२औँ बुद्ध सुब्बा गोल्ड कप २०२५ आयोजना गरिएको थियो भने ६ सेप्टेम्बर २०२५ मा “धराने भेला २०२५” कार्यक्रम सम्पन्न गरिएको जानकारी दिइएको छ। साथै स्वर्गीय युबिन तामाङको परिवारलाई ३३१० सहयोग रकम प्रदान गरिएको थियो।

त्यसैगरी पूर्व अध्यक्ष राजु लिम्बुको समन्वयमा धरानमा आयोजना हुने २६औँ बुद्ध सुब्बा गोल्ड कपका लागि पनि आर्थिक सहयोग पठाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

समाजले आर्थिक संकलनका लागि २८ फेब्रुअरी २०२६ मा एल्डरशटमा फन्डरेजिङ डिनर नाइट कार्यक्रम पनि आयोजना गरेको थियो, जसले संस्थाका आगामी कार्यक्रमहरू सञ्चालन गर्न सहयोग पुगेको बताइएको छ।

सभामा कोषाध्यक्ष किशोर राईले पनि सोही अवधिको आर्थिक गतिविधिबारे जानकारी दिँदै संस्थाको आय–व्यय तथा आर्थिक अवस्थाबारे अद्यावधिक विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा उपाध्यक्ष माहा राईले उपस्थित सम्पूर्ण सदस्य तथा अतिथिहरूलाई स्वागत गरेका थिए भने महासचिव बुलाभ गुरुङले सभा सञ्चालन गरेका थिए। कार्यक्रममा सहभागीहरूले संस्थाका गत वर्षका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा समाजलाई अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *