देशभर बाढी-पहिरोबाट ४९ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्र २१ जनाको निधन

काठमाडौं – बाढी र पहिरोका कारण देशभर ४९ जनाको ज्यान गएको छ, जसमा काठमाडौं उपत्यकामा मात्र २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। हालसम्म देशभर ७२८ जनालाई उद्धार गरिएको छ। बाढी र पहिरोले उपत्यकाका तीन जिल्लामा मानवीय क्षति पुर्‍याएको छ – काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको ज्यान गएको छ।

काठमाडौंमा ४ घर भत्किएको र २३६ घरमा बाढी पसेको प्रहरीले जनाएको छ। ललितपुर र भक्तपुरका धेरै घरमा पनि पानी पसेको छ। उद्धार कार्यका लागि काठमाडौंमा ३०६० प्रहरी कर्मचारी, ललितपुरमा ९३० र भक्तपुरमा १२० जना परिचालन गरिएको छ। जोखिम बढेसँगै काठमाडौंमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जनालाई थप सहयोगका लागि परिचालन गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषि राम तिवारीले काभ्रे, सिन्धुपाल्चोक र ललितपुर लगायतका जिल्लामा पनि मानवीय क्षति पुगेको जानकारी दिएका छन्। देशभर ६५ स्थानमा राजमार्ग अवरुद्ध भएका छन् भने ४२ जिल्लामा पहिरोको जोखिम बढेको छ।

मुख्य नदीहरू जस्तै बागमती, बिष्णुमती, र धोबीखोलाका किनारमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मीहरूले सहयोग गरिरहेका छन्। बागमती नदीको जलस्तर बढेर काठमाडौं र ललितपुरका सडक र बस्तीहरूमा पुगेको छ।

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण विज्ञ उज्ज्वल उपाध्यायका अनुसार, देशभर मनसुनको प्रभावले जनजीवन प्रभावित भएको छ। आज बेलुकी ५ बजेपछि वर्षा कम हुने अपेक्षा गरिएको छ, र भोलि बिहानदेखि मौसम सुधार हुने बताइएको छ।

उपाध्यायले भने, “आजको मौसम अत्यन्त जोखिमपूर्ण छ। प्रमुख नदीहरू जस्तै गण्डकी, राप्ती, बागमती र कोशीमा ठूलो बाढीको जोखिम छ। पहाडी क्षेत्रमा पहिरोको सम्भावना पनि उच्च छ।”

जनतालाई आवश्यक कामबाहेक घरमै बस्न र सुरक्षित रहन पनि अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *