काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान सुरु गरेका छन्। यो अभियान बालेनको एक फेसबुक पोस्ट हटाइएपछि सुरु भएको हो, जसलाई ओलीका समर्थकहरूले रिपोर्ट गरेका कारण फेसबुकले हटाएको आरोप लगाइएको छ।
मंगलबार दिउँसो बालेन शाहको सचिवालयले फेसबुकले बालेनको एउटा पोस्ट हटाएको जानकारी गराएको थियो। उक्त पोस्टमा बालेनले एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि “घरेलु कामदार बालकलाई यातना दिएको” आरोप लगाएका थिए। यस घटनापछि बालेनले फेसबुकमा असन्तुष्टि जनाउँदै लेखेका थिए, “पोस्ट हटाउने होइन, सरकारलाई जवाफदेही बनाउनुहोस्। यदि गल्ती मबाट भएको हो भने मलाई कारबाही गर्नुहोस्, नभए दोषीलाई कारबाही गर्नुहोस्।”
यो टिप्पणीपछि बालेनका समर्थकहरूले प्रधानमन्त्री ओलीको फेसबुक पेजलाई ‘अनफलो’ गर्न थाले। मंगलबार ओलीको फेसबुक पेजमा ६६६,००० फलोअर्स थिए भने बुधबार बिहान यो संख्या घटेर ६०१,००० मा पुगेको थियो। यो घटनाले फेसबुक पोस्टको विवादलाई नयाँ मोडमा पुर्याएको छ, जहाँ ओलीको पेजमा फलोअर्सको संख्या अचानक घट्न थालेको छ।
यो विवाद बालेनको पोस्टमा उठाइएको आरोप र त्यसको प्रतिकृयामा सुरु भएको अनफलो अभियानले ओली र बालेनबीचको राजनीतिक तनावलाई थप चर्काएको छ। समर्थकहरूको यो कदमले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ र यसले आगामी दिनमा थप विवाद उत्पन्न गर्ने सम्भावना देखिएको छ।