काठमाडौं, साउन ९ : जापानको फुकुओकामा जारी २० औं विश्व एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
नेपाल पौडी संघका अनुसार १३ औं सागमा ४ स्वर्ण जितेकी गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ६ दशमलव ८० सेकेण्डको समय निकाल्दै आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् ।
गौरिकाको यसअघिको कीर्तिमान भारतको गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा १ मिनेट ७.३१ सेकेण्डको थियो।
त्यस्तै नेपाली पौडीबाज नासिरले लगातार दोस्रो दिन नयाँ कीर्तिमान बनाएका छन् ।
सोमबार नासिरले २०० मिटर फ्रिस्टाइलमा १ मिनेट ५८.२३ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै १ मिनेट ५७.२६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।
यसअघि उनले ४०० मिटर फ्रिस्टाइलमा आफ्नै कीर्तिमान सुधार्दै आइतबार नयाँ कीर्तिमान बनाएका थिए ।